Monday 01-06-2026

निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधिमा तीव्रता

Satyapana
  • Sunday Dec 14 2025
  • | 286 Read

Share News

निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधिमा तीव्रता

२८ मंसिर, २०८२।  प्रतिनिधिसभा निर्वाचन आउन अब ८१ दिन मात्र बाँकी रहँदा मुलुकभर निर्वाचनको माहोल बन्दै गएको छ। निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारीलाई तीव्र बनाउँदै प्रत्यक्ष र समानुपातिकतर्फ दल दर्ताको प्रक्रिया सम्पन्न गरिसकेको छ।

सरकारले पनि निर्वाचनलाई सहज बनाउन आवश्यक तयारी पूरा गरेको जनाएको छ। यससँगै राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधि बढाएका छन्। प्रमुख दलदेखि नयाँ राजनीतिक शक्तिसम्म देशव्यापी रूपमा अभियानमा जुट्न थालेका छन्, जसले मुलुक क्रमशः निर्वाचनतर्फ उन्मुख हुँदै गएको संकेत गरेको छ।

नेपाली कांग्रेसले देशभरबाट उम्मेदवार छनोट गरी केन्द्रमा पठाउने काम सुरु गरिसकेको छ। कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका उम्मेदवार छनोट गरिरहेको छ भने प्रतिनिधिसभासँगै राष्ट्रियसभाका उम्मेदवारसमेत टुंग्याइरहेको छ। उम्मेदवार छनोटको प्रक्रियामा अन्य दलको तुलनामा कांग्रेस अगाडि देखिएको छ।

नेकपा (एमाले)ले शनिबारदेखि ११औँ महाधिवेशन सुरु गरेको छ। महाधिवेशनको उद्घाटनसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधरहित निर्वाचन भए एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको छ। उहाँले सरकारले निष्पक्ष, स्वतन्त्र र भयरहित चुनावको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ। एमालेले निर्वाचन आयोगले तोकेको समयसीमाभित्र दल दर्तालगायतका प्रक्रिया पूरा गरिसकेको छ।

विभिन्न कम्युनिस्ट पार्टी एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ‘सन्देशसभा’का नाममा देशव्यापी निर्वाचन केन्द्रित गतिविधि तीव्र बनाएको छ। सो पार्टीले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभा आयोजना गरेको थियो। यसअघि धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सन्देशसभा गरिसकेको नेकपाले आगामी पुस ५ गते काठमाडौँमा सन्देशसभा आयोजना गर्ने तयारी गरेको छ। तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा सो दलले स्पष्ट मत राख्दै आएको छ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतमा आयोजित सभामा निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने र त्यसका लागि पार्टी सक्रिय भइसकेको बताउनुभएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निर्वाचनका लागि वाचापत्र तयारीदेखि उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइसकेको छ। समानुपातिकतर्फ उम्मेदवारी आवेदन लिएको सो पार्टीले विभिन्न भेला र सभामार्फत निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गरिरहेको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारण प्रक्रिया सुरु गरेको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र व्यवस्थाअनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समुदायका लागि प्रतिशत निर्धारण गरिँदैछ।

समानुपातिक प्रणालीतर्फ कुल एक सय राजनीतिक दल सहभागी हुने भएका छन्। आयोगका अनुसार शुक्रबार ती दल दर्ता भई निर्वाचन चिह्नसमेत प्रदान गरिएको छ। दुई वा दुईभन्दा बढी दलले एउटै निर्वाचन चिह्नमा सहभागी हुने आवेदन दिएका कारण कुल ९३ वटा निर्वाचन चिह्न कायम गरिएको छ। प्रत्यक्षतर्फ भने एक सय १४ राजनीतिक दल सहभागी हुँदैछन्।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेर सरोकारवालाबाट सुझाव सङ्कलन गरिरहेको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिइसक्नुभएको छ। गृह मन्त्रालयले पनि आवश्यक सुरक्षा तयारी पूरा गरिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले स्पष्ट पारिसक्नुभएको छ।


For Add Product Review. You Need To Login First Login Page